फिल्ममा फर्कदै आशिकी राहुल

मुम्बई(एजेन्सी) । सन् १९९० को फिल्म ‘आशिकी’सँगै फिल्मका प्रमुख अभिनेता राहुल रोय रातारात स्टार बने । यो फिल्ममा अभिनय गर्दा राहुल केवल २२ वर्षका मात्र थिए । यो फिल्मको सफलतापछि राहुलले एक पछि अर्को कैयौं फिल्ममा काम गर्ने अवसर पाए । उनले ‘प्यार का साया’, ‘बारिश’, ‘जुनून’, ‘गजब तमाशा’, ‘दिलवाले कभी ना हारे’ जस्ता फिल्ममा अभिनय गरे । तर कुनै पनि फिल्मले ‘आशिकी’ जस्तो सफलता पाउन सकेन् । यिनै राहुल वर्षौपछि पुनः दर्शकमाझ आउँदैछन् ।

उनी फिल्म ‘आगरा’मा अभिनय गर्दैछन् । यो फिल्मलाई कनु बहल निर्देशन गर्दैछन् । कनुले यसअघि फिल्म ‘तितली’को निर्देशन गरेका थिए । यही फिल्ममार्फत सनी अरोडाले आफ्नो करियर शुरु गरेकी थिइन् । फिल्ममा रणवीर शौरीको पनि अभिनय थियो । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । कनु ‘तितली’का अलावा दिवाकर बनर्जीको फिल्म ‘एलएसडी’का सहलेखक पनि हुन् । दिवाकरसँग उनले सर्ट फिल्म ‘बिन्नुका सपना’ बनाएका थिए, जुन फिल्मले इन्टरनेशनल सर्ट फिल्म फेस्टिवल फ्रान्समा प्रिमियरको अवसर पाएको थियो ।

फिल्मका अलावा राहुल रोय ‘बीग बोस सीजन १’मा पनि देखिएका थिए । यो शोमा उनी प्रायः चुपचाप थिए, जसकारण पनि उनले उपाधि चुम्न सफलता पाए । राहुल हालका दिनमा मुम्बईमा बस्छन् । उनको एक प्रोडक्सन हाउस छ ।  फिल्मका विश्लेषकहरुले ‘आगरा’लाई राहुलको करियरको टर्निङ प्वाइन्ट हुने दाबी गरेका छन् । फिल्ममा एक पारिवारिक कथा रहनेछ । फिल्ममा प्रियंका बोस, मोहित अग्रवाल, रूहानी शर्मा, विभा छिब्बर, सोनल झा र आँचल गोस्वामीको अभिनय रहनेछ ।