भाग्यले डन बनेका अमिताभ

मुम्बई(एजेन्सी) । सन् १९७८ मे १२ मा रिलिज फिल्म ‘डन’ अभिनेता अमिताभ बच्चनको करियरको सबैभन्दा सफल फिल्ममध्ये एक हो । सन् ७० को दशकमा जब अमिताभ फिल्मको दुनियामा आफ्ना खुट्टा अड्याउने प्रयास गरिरहेका थिए, त्यही समयमा यो फिल्म उनको करियरमा कोशेढुंगा साबित भयो । यो फिल्मपछि अमिताभलाई बलिउडका डन भनिन थालियो । तर धेरैलाई थाहा नहुन सक्छ यो फिल्मका लागि अमिताभ निर्माताको पहिलो रोजाईमा थिएनन् ।

निर्माताले अमिताभ अघि तीन सुपरस्टारलाई फिल्मका लागि प्रस्ताव गरेका थिए । तर तिनै स्टारले अस्वीकार गरेपछि फिल्ममा अमिताभको प्रवेश भएको थियो । फिल्मका निर्देशक चन्द्रा बरोटले आफैं यो कुराको खुलासा गरेका हुन् ।

उनका अनुसार फिल्मका लागि देव आनन्द, जीतेन्द्र र धर्मेन्द्रलाई प्रस्ताव गरिएको थियो । तर तीनै जना स्टारलाई फिल्मको स्क्रिप्ट मनपरेन । त्यसपछि निर्देशक चन्द्रा अमिताभलाई भेट्न गए, अमिताभले उनको प्रस्तावलाई सहर्ष स्वीकारे ।

यो फिल्मका लागि अमिताभले फिल्मफेयरको बेस्ट एक्टर अवार्ड पनि जिते । अमिताभका अलावा फिल्ममा जीनत अमान, हेलन, प्राण र म्याक मोहन जस्ता कलाकारको अभिनय थियो । यो फिल्मलाई सन् २००६ मा फरहान अख्तरले शाहरुख खानलाई प्रमुख भूमिकामा अभिनय गराएर यो फिल्मको रिमेक बनाएका थिए । सन् २०११ मा फिल्म ‘डन २’ पनि बन्यो । दुवै फिल्म बक्सअफिसमा हित साबित भयो ।