तापसीका पाँचै फिल्म हिट

मुम्बई(एजेन्सी) । बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्ये एक तापसी पन्नुले गत एक वर्षमा पाँच फिल्ममा अभिनय गरिन् । संयोग नै मान्नुपर्छ, यी पाँचै फिल्म हिट भए र समीक्षकको राम्रो तारिफ पनि पाए । एक रिपोर्ट अनुसार तापसीको यी फिल्मले ३ सय ५२ करोड रुपैंयाँको व्यापार गरेको थियो । यो रिपोर्ट देखेर तापसी पनि छक्क परेकी छन् । उनले फिल्मको व्यापार यति आक्रामक हुन्छ भन्ने कुरा आफूले नसोचेको बताएकी छन् ।

‘ओहो धेरै राम्रो, मलाई त योबारे केही थाहा थिएन । मलाई लाग्छ कि क्वारेन्टाइनमा यो पललाई एकछिन रोकौं र आफ्नो यात्राको उत्सव मनाऔं । धन्यवाद’ उनले ट्वीटरमा लेखेकी छन् । तापसीको यो सफलतामा फिल्म ‘थप्पड’की सहअभिनेत्री दिया मिर्जाले उनलाई बधाई दिएकी छन् ।

तापसीले गत वर्ष चार सुपरहिट फिल्म ‘मिसन मंगल’, ‘गेम ओभर’, ‘बदला’ र ‘साण्डकी आँख है’मा अभिनय गरेकी थिइन् । उनको फिल्म ‘थप्पड’ यसै वर्षको मार्चमा रिलिज भएको थियो ।