अर्डर रद्द गरे ६ वर्ष जेल सजाय

मनिला(एजेन्सी) । कोरोना भाइरसका कारण लगाइएको लकडाउनका बीच मानिसहरु ठूलो संख्यामा सामानहरु डेलिभरी गरिरहेका छन् । यस्तो अवस्थामा सामान अर्डर गरेपछि त्यसलाई रद्द गर्ने मानिसको बानीले डेलिभरी गर्ने सवारी चालकले नोक्सानी ब्यहोरिरहनु परेको छ । यही कारण फिलिपिन्समा एउटा यस्तो कानून ल्याइएको छ, जसअनुसार अर्डर रद्द गर्ने व्यक्तिलाई ठूलो रकम जरिवानाका साथ ६ वर्ष जेल सजाय हुनेछ ।

फिलिपिन्सको फूड एण्ड ग्रोसरी डेलिभरी सर्विसेज प्रोटेक्शन ऐक्टलाई जून ४ मा संसदमा पेश गरिएको छ । यो एक्ट अनुसार यदी कोही दोषी पाइएमा उसले कमसेकम १५ सय पाउण्ड जरिवाना तिर्नुपर्नेछ । यसबाहेक ६ वर्षको जेल सजाय पनि तोकिएको छ । बिना कुनै सही कारण वा कुनै मजाकको लागि अर्डर रद्द गर्दा डेलिवरी राइडर्सलाई नोक्सान हुने र मानसिक समस्या हुने भएकाले सरकारले कानूनी बाटो अपनाएको हो ।

धेरै समयसम्म सामान पर्खेर रद्द गर्ने ग्राहकका लागि भने यो कानून लागू हुने छैन । जुन व्यक्तिले क्रेडिटर डेबिट कार्ड वा अन्य माध्यमबाट एडभान्स पैसा तिरेका छन्, उनीहरुलाई पनि यो दायराबाट बाहिर राखिएको छ । त्यस्तै अनलाइन प्लेटफर्ममा डेलिवरी चालकको अपमान गर्नेलाई ६ महिना जेल सजाय तोकिएको छ । फूड एण्ड डिलिवरी प्रोवाइडर्सले ग्राहकबाट आइडी कार्ड या बिल लिनुपर्नेछ । आइडीको भेरिफिकेसन भिडियो कलबाट लिइनेछ ।