वार्षिक सय करोड कमाउछन् संगीतकार प्रीतम

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात गायक तथा संगीतकार प्रीतमका गीत निकै लोकप्रिय छन् । अहिले पनि उनका गीतहरुलाई मानिसहरु गुनगुनाउछन् । उनले बलिउडलाई निकै गीत दिएका छन् । उनले आइतबार आफ्नो जन्मदिन मनाउदैछन् ।

प्रीतमको जन्म कोलकातामा एक बंगाली परिवारमा भएको थियो । उनका पिता संगीत स्कूल सन्चालन गर्थे र त्यहीबाट प्रीतमले संगीतको कखरा सिके । उनले स्कुल र कलेजमा पनि आफ्नो संगीतको दमबाट विशेष पहिचान बनाए । पढाई पछि प्रीतम चक्रवर्ती बलिउडमा करियर बनाउनका लागि मुम्बई आए । मुम्बईमा फिल्ममा आफ्नो कला देखाउनका लागि उनले निकै मेहनत गरे । यही क्रममा उनले सन्जय गधवीको फिल्म ‘तेरे लिए’मा संगीत भर्ने मौका पाए । यसपछि उनले विस्तारै विस्तारै उनले अन्य फिल्ममा काम गर्ने मौका पाए ।

प्रीतमले हालसम्म ‘धूम’, ‘धूम २’, ‘गैंगस्टर’, ‘लाइफ इन अ मेट्रो’, ‘जब बी मेट’, ‘रेस’, ‘बिल्लू’, ‘लव आज कल’, ‘गोलमाल रिटर्न’, ‘तुम मिले’, ‘अजब प्रेम की गजब कहानी’, ‘दे दना दन’, ‘तो बात पक्की’, ‘अतिथि तुम कब जाओगे?’, ‘बदमाश कम्पनी’, ‘राजनीती’, ‘खट्टा मीठा’, ‘वन्स अपन अ टाइम इन मुम्बई’ जस्ता कैयौं फिल्ममा आफ्नो संगीत दिइसकेका छन् ।

फोब्र्सले सन् २०१९ मा जारी गरेको टप सय सेलिब्रेटीमा प्रीतमको नाम १७ औं स्थानमा थियो । यद्यपि संगीत उद्योगमा कमाईको कुरा गर्ने हो भने प्रीतमको नाम शीर्ष स्थानमा छ । प्रीतमले सन् २०१९ मा ९७ दशमलब ७८ करोड कमाएका थिए । उनले आफ्नो करियरमा कैयौं अवार्ड पाइसकेका छन् । तर उनले वार्षिक झन्डै सय करोडको हाराहारीमा कमाई गर्ने जानकारहरु बताउँछन् । यसअघि प्रीतम सन् २०१७ को सूचीमा पनि अटेका थिए । सन् २०१७ मा उनको कमाई २५ करोड रुपैंयाँ थियो ।