कोरोना उपचारको बिल ११ लाख डलर आएपछि…

सिऐटल(एजेन्सी) । अमेरिकाको सिऐटलमा बस्ने ७० वर्षे माइकल फ्लोर जब ६२ दिनमा कोरोना संक्रमणबाट मुक्त भए, त्यो समयमा उनी सबै समस्याबाट मुक्त भएको अनुभव लिए । तर कोरोनाबाट मुक्त भएपछिको अवस्था जब उनले थाहा पाए, त्यो बेला उनी आफैं हल्लिए । किनकी उनलाई अस्पतालले कोरोना उपचारको ११ लाख डलरको बिल थमाइदिएको थियो ।

फ्लोरलाई स्वीडिस मेडिकल सेन्टरमा उपचारपछि जब १ सय ८१ पृष्ठ लामो बिल थमाइयो, तब उनको होस उड्यो । यो बिलमा हरेक दिन ५० औषधिको हिसाबले कुल करीब ३ हजार सामानको सूची थियो । ४२ दिन स्पेसल आइसोलेशन चेम्बरवाला इन्टेन्सिव केयर युनिटका लागि ४ लाख ८ हजार ९१ डलर र २९ दिन भेन्टिलेटरका लागि ८२ हजार २ सय १५ डलरको बिल बनाइएको थियो ।

समाचार अनुसार उपचारका समयमा फ्लोरको मुटु, मृगौला र फोक्सो फेल हुन लागेपछि उनी जिन्दगी र मृत्युको बीचमा दौडिइरहेका थिए । त्यही बेला अस्पतालले उपचारका लागि एक्लै उनको बिल १ लाख डलर बनाएको छ । यसबाहेक बिलको एकचौथाई मूल्य औषधिको छ ।फ्लोरले बिमा गरेका छन् । त्यसकारण काँग्रेसको कोलोना कालका समयमा बनाएको विशेष नियम अनुसार बढी रकम ट्याक्सपेयरको हिस्साबाट जानेछ । काँग्रेसले १ सय बिलियन डलरभन्दा बढी राशी अस्पताल र बीमा कम्पनीहरुलाई महामारीका समयमा आर्थिक संकटबाट बचाउनका लागि सतर्क गराएको छ । बीमा कम्पनीको अनुमान अनुसार कोभिड–१९ को उपचारको मूल्य ५ सय बिलियन डलरसम्म पुग्नेछ ।

फ्लोरले आफ्नो बिल देखेर दुःख लागेको बताएका छन् । उनले कोही अरुले बिलको पैसा बुझाउनुपर्ने माग राखेका छन् । ‘म बाँच्नु नै आफ्ना लागि दुःख लागेको छ । के मलाई यसको अधिकार थियो ?’ उनले भनेका छन् । अमेरिकाको स्वास्थ्य बीमा योजना अनुसार कोरोना भाइरसको उपचारमा औसत ३० हजार डलर खर्च हुन्छ । २० लाख भन्दा बढी अमेरिकी नागरिक कोरोना पोजिटिभ पाइएका छन् । अधिकांश मानिसहरु घरमा नै उपचार गरिरहेका छन् ।