यसकारण डिप्रेसनमा थिए सुशान्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेपछि उनले के कारणले आत्महत्या गरे भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ । हालसम्म उनको आत्महत्याको कारण बारे केही खुलेको त छैन, तर उनका नजिकका साथीहरुका अनुसार सुशान्त पछिल्लो लामो समय डिप्रेसनबाट गुज्रिरहेका थिए । तर डिप्रेसनको कारण के थियो भन्ने अहिलेसम्म खुलेको छैन । चारदिन अघि मात्र उनका मेनेजर दिशाको पनि भवनबाट झरेर मृत्यु भएको थियो ।

पटना घर भएका सुशान्त चार दिदीबहिनीका एक्ला भाइ थिए । सानैदेखि पढाईमा तेज सुशान्त इन्जिनियरिङको अल इण्डिया परीक्षामा उनी ७ औं भएका थिए । उनी आफ्नो आमा र दिदी बहिनीलाई खुबै प्रेम गर्थे । केही समय अघि उनको आमा र एक बहिनीको निधन भएको थियो । बहिनी र आमाको निधन भएपछि सुशान्तका पिता पटनामा एक्लै बस्दै आएका थिए ।

आमाको निधन भएपछि सुशान्त जहिल्यै दुःखी थिए । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पछिल्लो पटक आमाको तस्बिर राखेका थिए । गत जून ३ मा उनले आमासँगको एक तस्बिर राखेका थिए । सुशान्तको अभिनय करियर निकै उतारचढावपूर्ण रह्यो । उनको अभिनयमा कसैको भरोसा थिएन । जसकारण कैयौं फिल्म फ्लप भए । तर उनको पछिल्लो फिल्म ‘छिछोरे’ निकै राम्रो थियो । उनको नयाँ फिल्म ‘दिल बेचारा’ यसै वर्ष रिलिज हुने तयारीमा थिए ।

सुशान्त टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’मा आफ्नो अपोजिटमा काम गरेकी अभिनेत्री अंकिता लोखण्डेसँग निकै लामो समयसम्म सम्बन्धमा रहे । उनीहरु कैयौं वर्षसम्म लिभ इन रिलेसनसिपमा थिए । त्यसपछि उनीहरुको ब्रेकअप भयो र सुशान्तको नाम कृति सेननसँग जोडिन थाल्यो । तर केही समय सँगै देखिएपछि उनीहरु पनि छुटे । पछिल्लो दिनमा उनको नाम रिया चक्रवर्तीसँग जोडिएको थियो । तर उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै खुलाएनन् । यही कारणले पनि उनी डिप्रेसनमा थिए भन्ने चर्चा छ ।  उनका साथीहरुका अनुसार सुशान्त ६ महिनादेखि लगातार डाक्टरको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका थिए । शनिबार बेलुका उनी केही साथीहरुसँग थिए । बिहान जब सुशान्तले कोठाको ढोका खोलेनन्, त्यसपछि ढोका फोडेर हेर्दा उनी झुण्डिइरहेका थिए ।