‘१२ देखि १४ फिल्ममा बिना पैसा काम गरें’

मुम्बई(एजेन्सी) । भोजपुरी र हिन्दी फिल्मको दिग्गज अभिनेता रवि किशनले आफ्नो करियरमा निकै लामो यात्रा गरेका छन् । कमै मात्र मानिसलाई थाहा छ कि रवि किशनलाई भोजपुरी सुपरस्टारको उपाधि दिने व्यक्ति बलिउडका महानायक अमिताभ बच्चन हुन् । जौनपुर उत्तर प्रदेशको बिसुई गाउँमा जन्मिएका रवि किशनले शुक्रबार आफ्नो ५१ औं जन्मदिन मनाएका छन् ।

रविले आफ्नो करियरको शुरुवात सन् १९९२ मा फिल्म ‘पिताम्बर’बाट गरेका थिए । धेरैले रवि भोजपुरी फिल्मबाट हिन्दी फिल्ममा आएको भने पनि यो गलत हो । रविले आफ्नो करियर हिन्दी फिल्मबाट शुरुवात गरेका थिए । उनले सन् १९९२ देखि २००२ सम्म हिन्दी फिल्ममा अभिनय गरेपछि ‘सइयाँ हमार मे’मार्फत पहिलोपटक भोजपुरी फिल्ममा देखिएका हुन् ।

उनले आफ्नो जीवनमा धेरै संघर्ष गरे । उनले शुरुवाती समयमा कैयौं फिल्ममा सित्तैमा काम गरे । ‘मैले शुरुवाती १२ देखि १४ फिल्म बिना पैसा काम गरें । त्यो समयमा विकल्प कम थियो कि तपाईंलाई पैसा मिल्थ्यो कि त काम’, उनले भनेका छन् ।

रविका अनुसार उनले आफ्नो करियरमा धेरै मेहनत गरेका थिए । अमिताभले रविलाई उनको फिल्म ‘गंगा’को संगीत सार्वजनिक कार्यक्रममा भोजपुरी सुपरस्टार भनेर सम्बोधन गरेका थिए । सन् २००६ मा रिलिज फिल्म ‘गंगा’ पछि रवि पूर्ण रुपमा भोजपुरी फिल्ममा काम गर्न थाले । यो बीचमा उनले केही हिन्दी फिल्ममा पनि अभिनय गरे ।