लकडाउनमा सेलिब्रेटीको कृषिकर्म

मुम्बई(एजेन्सी) । कोभिड–१९ को महामारीका कारण सरकारले लागू गरेको लकडाउनले धेरै सेलिब्रेटीलाई व्यवहारिक बनाएको छ । सामान्य समयमा सुटिङमा व्यस्त हुने सेलिब्रेटीहरुले लकडाउनलाई सदुपयोग गर्दै माटोसँग सम्बन्ध जोडेका छन् । कोही कलाकार खेतीपातीमा व्यस्त छन् भने कोही बगैचाको फूल स्याहारिरहेका छन् ।

सलमान खानदेखि जूही चावलासम्म कैयौं स्टारहरु किसानको रुपमा सामाजिक सन्जालमा आफूलाई प्रस्तुत गरिरहेका छन् । सामाजिक सन्जालमा उनीहरुको तस्बिर र भिडियो भाइरल भइरहेको छ । अभिनेता सलमान खान हालै आफ्नो पनवेलस्थित फार्महाउसमा खेतीमा व्यस्त अवस्थामा भेटिए । यी बलिउड स्टार हालका दिनमा ट्याक्टर चलाएर खेती गरिरहेका छन् । उनी कहिले माटोलाई शरीरका सबै भागमा लगाएर सामाजिक सन्जालमा फोटो राख्छन् ।

पाका अभिनेता धर्मेन्द्र पनि प्रायः आफ्नो फार्महाउसमा विरुवा र खेतमा लगाइएको तरकारी तथा फलफूलका फोटो सामाजिक सन्जालमा राख्छन् । धर्मेन्द्र यो उमेरमा पनि खेतलाई अगाध प्रेम गर्छन् र आफूलाई किसानका रुपमा देखाउछन् । ज्याकी श्राफ पनि ती कलाकारमा पर्छन्, जो मौका मिल्ना साथ किसानी कर्म गर्न रुचाउछन् ।

अभिनेत्री जुही चावला पनि घरको बगैचामा खेतीपाती गर्न इच्छा राख्छिन् । अभिनेता नवाजुद्दीन सिद्दिकी पनि समय मिल्ना साथ आफ्नो यूपीस्थित घर गएर किसानी कर्म गर्छन् । दक्षिण भारतीय अभिनेत्री समान्था अक्किनेनी पनि हालका दिनमा घरकै बगैंचामा कृषि कर्म गरिरहेकी छन् । जबकी उनी खेतमा पनि किसानी काम गरिरहेको कैयौं पटक देखिएको छ ।