माउण्टेन मेनको परिवारलाई ऋण तिर्नै हम्मे

गया(एजेन्सी) । ‘द माउण्टेन मेन’का नामले प्रख्यात दशरथ माझी यतिबेला आर्थिक संकटमा परेका छन् । प्रेमका लागि पहाडलाई काटेर बाटो बनाएका दशरथको नाममा कैयौं फिल्म, अस्पताल र सडक बनेका छन् । उनको परिवार हाल ऋणमा डुबेका छन् । माझीको परिवार यतिबेला आर्थिक सहयोगका लागि हात फैलाइरहेका छन् ।

दशरथका नाती मद्रासमा काम गर्थे । तर देशमा जारी गरिएको लकडाउनले उनी घर फर्किए । उनी यतिबेला बेरोजगार छन् । दश दिन अघि मात्र माझीकी दुई वर्षीया नातिनी पिंकी कुमारीको दुर्घटनामा एक हात र खुट्टा भाचिएको छ । जसको उपचारमा ४५ हजार खर्च भएको छ । पिंकीको उपचारका लागि परिवारले गाउँबासीसँग ऋण लिएका छन् । तर अब पिंकीको उपचारका लागि उनीहरुसँग पैसा छैन । उनीहरुले पिंकीको उपचारका लागि स्थानीय सरकारसँग पनि गुहार मागेका छन् । हालसम्म इन्दिरा आवासबाट केही सहयोग भएको छैन । माउन्टेन मेनका छोरा भगीरथ माझीलाई वृद्धा पेन्सन र छोरीलाई विधवा पेन्सन आउने भए पनि हालका लागि त्यो रोकिएको छ ।

बलिउड फिल्म निर्देशकहरुले पनि माझीको बारेमा फिल्म बनाउदा उनीहरुको परिवारलाई रोयल्टी दिने बताए पनि त्यो केवल आश्वासनमा सीमित भएको परिवारको गुनासो छ । माउन्टेन मेनका परिवार आज पनि पहिलाको जस्तै फुसको घरमा बसिरहेका छन् । ‘हामी धेरै गरिब छौं । छोरीको उपचार ऋण लिएर गरेका छौं । घरबाहिर रहँदा काम गर्थे, तर लकडाउनका कारण काम पनि बन्द भयो’, भगीरथले भनेका छन् । भगीरथका अनुसार उनका पिताको नाममा फिल्म बनाउने निर्माताले फिल्मको दुई प्रतिशत शेयर दिने भने पनि त्यो कार्यान्वयन भएको छैन ।