मिडिया लिटरेसी निबन्धमा रोजिता उत्कृष्ट

काठमाडौं । शैली थियटर र नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रमले संयुक्त रूपमा आयोजनामा गरेको ‘नेपालमा मिडिया साक्षरता’ विषयक राष्ट्रिय निबन्ध प्रतियोगितामा पोखराकी रोजिता आचार्य क्षेत्री विजयी भएकी छन् । नेपालको ७ वटा प्रदेशका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा पोखरा रानीपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ मा पढ्ने रोजिता प्रथम भएकी हुन् । प्रतियोगितामा महेश संस्कृत गुरूकुलम् देवघाट तनहुँका कक्षा १० का छात्र प्रविण नेपाल दोश्रो र पञ्चोदय मावि धनगढी कैलालीका एसईईका छात्र पवन भट्ट तेश्रो भएका छन् ।

नेपाली बालबालिकलाई मिडिया साक्षरताका बारेमा कति जानकारी छ र उनीहरूमा आलोचनात्मक ढंगले विश्लेषण गर्ने क्षमता बुझ्नका लागि द नेदरल्याण्ड्सको द फ्रि प्रेस अनलिमिटेडको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो पुरस्कारमा क्रमशः १५, १० र ५ हजार रुपैंयाँसहित प्रमाणपत्र रहेको छ ।

शैली थिएटरको कार्यक्रम संयोजक सरस्वती अधिकारीका अनुसार परिस्थिति सामान्य नभएको अवस्थामा शैली थिएटरले फेसबुक मार्फत गराएको शैली संवाद कार्यक्रममा अतिथि रहेकी समिक्षक तथा निबन्धकार कुमारी लामाले विजेताको नाम घोषणा गरेकी हुन । बालबालिकाको सुरक्षाका लागि उनीहरूले पाएको पुरस्कार तथा प्रमाणपत्र समेत अनलाइनबाट नै पठाइने व्यवस्था गरिएको शैली थिएटरका व्यवस्थापक सुवास सुबेदीले बताए ।