ह्याप्पी बर्थ डे मनीषा कोइराला

काठमाडौं । बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला आज आइतबार आफ्नो जन्मदिन मनाउदैछिन् । सन् १९७० अगष्ट १६ मा काठमाडौंमा जन्मिएकी मनिषाको परिवार राजनीतिसँग जोडिएको छ । तर उनले आफ्नो करियरमा राजनीति भन्दा फिल्म जगतलाई रोजिन् ।

मनीषाका पिता प्रकाश कोइराला नेपाल सरकारको मन्त्रीसमेत भए । उनका हजुरबुवा विश्वेश्वरप्रसाद कोइराला अर्थात् बीपी सन् १९५० देखि ६० को दशकमा नेपालको प्रधानमन्त्री भइसकेका छन् । मनिषा नेपालमा जन्मिए पनि उनको बाल्यकाल उत्तर प्रदेशको बनारसमा बित्यो । उनले बनारसको बसन्त कन्या महाविद्यालयबाट शिक्षा लिइन् । बाँकी पढाई उनले नयाँदिल्लीको धौला कुआँको आर्मी पब्लिक स्कूलबाट पुरा गरिन् ।

बाल्यकालमा मनीषा डाक्टर बन्न चाहन्थिइन् तर मोडलिङले उनका लागि ग्ल्यामर उद्योगको ढोका खोलिदियो । सन् १९९१ मा सुभाष घईको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालेकी उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । सन् १९९४ मा रिलिज विधु विनोद चोपडाको फिल्म ‘१९४२ः ए लभ स्टोरी’ उनको करियरका लागि कोशेढुंगा साबित भयो । उनले आफ्नो करियरमा ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘दिल से’, ‘खामोशी’, ‘गुप्त’, ‘कच्चे धागे’ र ‘लज्जा’ लगायतका फिल्ममा अभिनय गरिन् ।

उनले सन् २०१० जून १९ मा नेपाली व्यापार सम्राट दाहालसँग विवाह गरिन् । तर यो विवाह दुई वर्षमै टुट्यो । एक अन्तरवार्तामा उनले आफ्नो विवाह टुट्नुमा आफू जिम्मेवार भएको बताएकी थिइन् । डिभोर्सपछि उनको स्वास्थ्य बिग्रदै गयो । सन् २०१२ मा उनलाई ओबरी क्यान्सर भएको खुलासा भयो । त्यसपछि उनी उपचारका लागि अमेरिका गइन् । मनीषा पछिल्लो पटक फिल्म ‘सन्जु’मा रणवीर कपूरको आमाको भूमिकामा देखिएकी थिइन् ।