न्यूयोर्क(एजेन्सी) । बालबालिकाको युट्युब च्यानल कोकोमेलन चर्चामा छ । यसको भिडियोलाई हालसम्म ७३ अर्ब भन्दा बढी पटक हेरिएको छ । अमेरिकामा यो कुनै पनि विधामा सर्वाधिक हेरिएको युट्युब च्यानल हा । सारा विश्वमा यो नम्बर २ मा छ । ‘कोकोमेलन– नर्सरी राइम्स’लाई हालै लण्डनको मूनबग नामको कम्पनीले खरिद गरेको छ ।
ब्लूमबर्डका अनुसार कोकोमेलन एक अर्ब डलरको यू–ट्यूब बिजनेस बन्न सक्नेछ । यस्तो गर्ने यो विश्वकै पहिलो युट्युब च्यानल हुनेछ । सामाजिक सन्जालको तथ्यांक विश्लेषण गर्ने वेबसाइट सोशल ब्लेडका अनसार पछिल्लो ३० दिनमा नै कोकोमेलनमा ३ दशमलब ३१ अर्ब भ्यू आएको छ ।
च्यानललाई ५५ वर्षीया जे जियोन चलाउछन् । जियोन दक्षिण कोरियाका हुन् । तर उनी सन् १९९० दशकको मध्यमा अमेरिका आएका थिए । जियोन र उनकी पत्नी बालबालिकाको पुस्तक लेख्दथे । शुरुवातमा दुवैले दुई छोराका लागि भिडियो बनाएका थिए । उनका साथीहरुले देखेर त्यसलाई युट्युबमा हाल्न सल्लाह दिए । हरेक वर्ष ९९ लाख डलरदेखि १५ दशमलब ८ करोड डलर कमाउने कोकोमेलन च्यानललाई जे जियोनले करिब १० वर्षसम्म आफ्नो पत्नीका साथ चलाइरहेका छन् । च्यानलको काम बढ्दै गएपछि उनीहरुले २० जनाको टिम बनाए ।
जियोनका छिमेकीहरुलाई पनि जियोन के गर्छन वा कोकोमेलन उनीहरुको युट्युब च्यानल हो भन्ने थाहा छैन । वर्षौदेखि उनीहरु इन्भेस्टर, स्पोन्सर र अर्को भाषामा यो कार्टुनलाई अनुवाद गर्नुपर्ने माग अस्वीकार गर्दै आएका छन् । यो वर्ष उनीहरुले मर्चेन्डाइजलाई मन्जुरी दिएका छन् ।