रक्षा मन्त्रालयको अनुमति पर्खदै जोनको गोरखा

मुम्बई(एजेन्सी) । बलिउडमा सुरक्षासँग जोडिएको फिल्म बनाउने लहर नै चलेको छ । यही मेसोमा अभिनेता जोन अब्राहम गोरखा रेजिमेन्टको विषयमा फिल्म ‘गोरखा’ निर्माण गर्दैछन् । यो फिल्मको छायांकन शुरु हुनु अघि निर्माण पक्षले विभिन्न सावधानी अपनाइरहेको छ । किनकी फिल्म ‘गुन्जन सक्सेना’ वा अन्य फिल्मको जस्तै फिल्म बनेपछि कुनै पनि किसिमको विवादमा नआउने ‘गोरखा’ युनिटको योजना छ ।

जोन हाल फिल्म ‘मुम्बई सागा’ र ‘सत्यमेवा जयते २’मा व्यस्त छन् । फिल्म ‘गोरखा’मा निखिल आडवाणीको निर्देशन रहनेछ । फिल्मले भारतीय सेनाको गोरखा रेजिमेन्टको कथा बोल्नेछ । फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको पात्रको स्केच र कथा कस्तो हुन्छ भन्ने जानकारी रक्षा मन्त्रालयलाई जानकारी गराइसकिएको छ ।

‘लकडाउनको समयमा रक्षा मन्त्रालयबाट अनुमति लिनका लागि जरुरी औपचारिकताको काम पुरा गरिएको छ । अब मन्त्रालयले फिल्मका लागि हरियो झन्डा देखाउन बाँकी छ कि जुन किसिमले फिल्ममा गोरखा रेजिमेन्टलाई देखाइएको छ, त्यसमा विभागलाई कुनै आपत्ति छैन भन्ने हो’, स्रोतले भन्यो । रक्षा मन्त्रालयको अनुमति पाएपछि फिल्मको सुटिङ शुरु गर्ने विषयमा काम तालिका तयार हुनेछ । प्रोडक्सनका मानिसहरु पनि मन्त्रालयबाट हरियो झन्डा देखाउनेमा आशावादी छन् ।

हाल ओटीटी प्लेटफर्मममा रिलिज फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ र सन् २०१६ मा रिलिज फिल्म ‘एयरलिफ्ट’ले सम्बन्धित विभागको तनाव झेल्नु परेको थियो । ‘एयरलिफ्ट’को रिलिज पछि विदेश विभागका कैयौं कुटनीतिज्ञले रचनात्मक स्वतन्त्रतामा तोडमोड गरेको भन्दै आपत्ति जनाएका थिए । त्यस्तै ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ले पनि एयरफोर्सको झन्झट व्यहोर्नुपरेको छ । एक पूर्व महिला वायुसेना अधिकारीले फिल्मले गलत तथ्य प्रस्तुत गरेको दाबी गरेकी छन् । जोन र निखिल यस किसिमका विवाद चाहँदैनन् । त्यही कारण उनीहरु सुटिङमा जानु अघि रक्षा मन्त्रालयबाट अनुमतिको प्रतिक्षामा छन् ।