काठमाडौं । पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि, सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परीवर्तन’लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ई–बुकको रुपमा सार्वजनिक गरेको छ । निबन्ध संगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ । यस पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरेको छ । यो पुस्तक शाक्यको चौथो पुस्तक हो, नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो ।
‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अंगाल्नेतर्फको यो व्यवहारिक छलाङ भएपनि, हामीले ‘प्राइमरी ई–बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्नको रुपमा लियौं । एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरुको ई–बुक संस्करण प्रतिको पाठक रुचीले, नेपाली पुस्तक बजार ई–बुकको निम्ति तयार रहेको इंगित गरेको छ ।’
‘अर्थात् परिवर्तन’को ई–बुक २ सय ५० रुपैंयाँमा उपलब्ध छ । पूर्ण पुस्तकका साथै पाठकहरूलाई १५ रुपैंयाँमा एकल अध्याय किन्ने वैकल्पिक सुविधा पनि रहेको छ । यसका अध्यायहरु माथिकै मूल्यमा लेखककै आवाजमासुन्न सकिने व्यस्था पनि गरिएको छ।पुस्तकको छापा संस्करण भने बन्दाबंदी पछि उपयुक्त समयमा बजारमा उपलब्ध हुने छ ।
कोरोना महामारीले गर्दा सार्वजनिक कार्यक्रमहरू प्रभावित भएका छन् र तिनले वैकल्पिक बाटो खोजेका छन् । यही अवस्थालाई ध्यानमा राखेर नेपालयले पुस्तक सार्वजनिक गर्ने प्रत्यक्ष कार्यक्रमको विकल्प स्वरुप युट्युब च्यानलमा पुस्तक वार्ताको थालनी गरेको छ । नेपालयको ‘आर’शालामा लेखकहरुसँग गरिने भिडियो संबाद श्रृंखलालाई ‘बुक टक’ को रुपमा प्रस्तुत गरिने छ, जसलाई पब्लिकेसन्स नेपालयकी सम्पादक भूषिता वशिष्ठले संचालन गर्नेछिन् ।