नेपाली कर्मचारीलाई भारतीयको रेलवे प्रशिक्षण

काठमाडौं । भारतीय रेल्वे कर्मचारीहरु नेपाली जनशक्तिलाई रेल्वे सञ्चालनका विषयमा प्रशिक्षण दिन नेपाल आउने भएका छन् । जनकपुर–जयनगर रेल्वे वाइनको सञ्चालनका लागि नेपाल र भारतीय रेलवे बोर्डबीच सम्झौता भएको छ । सोही सम्झौता अनुसार भारतबाट २६ अधिकारी नेपाल आउनेछन् ।

नेपालको रेल विभागका महानिर्देशक बलराम मिश्रले नेपाल र भारतीय रेलवे बोर्डबीच एक करार सम्झौता भएको बताए । उनले भारत र नेपालका रेलवे अधिकारीहरुबीच एक अनलाइन भिडियो कन्फरेन्सको माग गरेको खुलाए । ‘नेपाल रेलवेमा विभिन्न पदका लागि आवेदन पनि माग गरिएको छ । तर हालसम्म कुनै पनि निवेदन आएको छैन । अब हामी भारतीय अधिकारीलाई नियुक्त गर्ने तयारीमा छौं । जो नेपाल रेलवेका अधिकारीहरुलाई प्रशिक्षण दिनेछन्’ उनले भने ।

नेपाल र भारतीय रेलवे बोर्डबीच भएको सम्झौतासँगै भारतीय अधिकारीहरुको नियुक्तिको प्रक्रिया पनि शुरु भएको छ । बोर्डले सिनियर सेक्शन इञ्जिनियर, स्टेशन मास्टर, चीफ पावर कन्ट्रोलर, चीफ लोको इन्स्पेक्टर, लोको पायलट, डिप्टी लोको पायलट, सुपरभाइजर, मेकेनिक र प्वाइन्ट मेन पदमा नियुक्तिका लागि आवेदन मागेको छ ।

मिश्रका अनुसार जनकपुर–जयनगर रेलवे लाइनमा शुरु हुने सबै नयाँ ट्रेनको कोच बिहार पुगिसकेका छन् । तर कोभिड–१९ को प्रतिबन्धका कारण रेल कोचहरुलाई नेपाली रेलवे अधिकारी समक्ष हस्तान्तरण गर्न सकिएको छैन ।