मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन अभिनेत्री निया शर्माले एडभेन्चर रियालिटी शो ‘खतरों के खिलाडी–मेड इन इण्डिया’को उपाधि जितेकी छन् । यी अभिनेत्रीले सिजनमा लगातार आफ्नो स्टन्टले मानिसको ध्यान आकृष्ट गरेकी थिइन् ।
ट्रफी जितेपछि अभिनेत्रीले इन्स्टाग्राममा तस्बिर राखेकी छन् । जसमा उनी शोको टिमसँग देखिएकी छन् । शो प्रसारण हुने कलर्स च्यानलले ट्वीटरमार्फत नियालाई बधाई दिँदै उनलाई विजेता घोषणा गरेको छ ।
शोको फाइनल राउण्डमा नियासँगै अली गोनी, करण वाही, जस्मिन भसीन र भारती सिंह थिए । यो सिजनको विशेषता के थियो भने पहिलोपटक शोलाई भारतमा छायांकन गरिएको थियो । रोहित शेट्टीले आफ्नो स्टन्ट टिमका साथ यो शो मुम्बईको फिल्म सिटीमा छायांकन गरेको थियो । त्यसकारण यसको नाम मेड इन इण्डिया राखिएको थियो ।
निया प्रायः आफ्नो तस्बिरका कारण चर्चामा आउछिन् । आफ्नो हट शैलीले उनलाई विशेष पहिचान दिएको छ । उनको यो ग्ल्यामरस अन्दाजलाई धेरैले मनपराएका छन् । नियाले सन् २०१० मा ‘काली–एक अग्निपरीक्षा’ नामको सिरिजबाट टेलिभिजन करियर शुरु गरेकी थिइन् ।