कोरोना संक्रमणका कारण पूर्व राष्ट्रपति मुखर्जीको निधन

नयाँदिल्ली(एजेन्सी) । भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । शरीरमा कोरोना भाइरस रिपोर्ट पोजेटिभ देखिएको २१ दिन पछि उनको निधन भएको हो । मस्तिष्कमा भएको क्लटलाई हटाउन अस्पताल भर्ना भएपछि उनलाई कोरोना संक्रमण भएको खुलेको थियो ।

सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति बन्नु अघि ५१ वर्षे राजनीतिक करियरमा उनले महत्वपूर्ण उपलब्धि प्राप्त गरेका थिए । यो समयमा उनी अर्थ, परराष्ट्र र रक्षा मन्त्रीसम्म भए । उनका छोरा अभिजितले पिताको निधन भएको पुष्टि गरेका छन् । उनी अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि बसेका थिए । उनले जीवनका अधिकांश समय काँग्रेसको राजनीति गरेर बिताए ।

मुखर्जीले सन् १९६० मा काँग्रेसको राजनीति शुरु गरे । जुन समयमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । उनी इन्दिरालाई आफ्नो प्रेरक मान्दथे । सन् १९८६ मा काँग्रेसबाट अलग्गिएर आफ्नो पार्टी गठन गरे पनि दुई वर्षपछि पुनः काँग्रेसमै फर्किएका थिए ।