काठमाडौं । दुई वर्ष अघि ‘कान्छी’का रुपमा दर्शकमाझ आएकी अभिनेत्री स्वेता खड्का चाँडै नै एक अनटाइटल फिल्ममा ‘आमा’ बन्ने भएकी छन् । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेता श्रीकृष्ण श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्दै नेपाली फिल्ममा डेब्यू गरेकी स्वेताले लेखक तथा निर्देशक यम थापाको नयाँ फिल्ममा आमाको भूमिका निर्वाह गर्न लागेकी हुन् ।
‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यमको फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्नेछ । थापाका अनुसार फिल्मका लागि छोरीको भूमिकामा बाल कलाकार सेड्रिना शर्मासँग कुराकानी भइरहेको छ । थापाले कोरोना महामारी र हालको निषेधाज्ञाको अवस्था सहज हुनासाथ छायांकनमा जाने बताए ।
सेड्रिना हाल जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न पाएको छैन । नयाँ फिल्मका लागि स्वेता पनि उत्साहित रहेको निर्देशक थापाले बताए । उनका अनुसार आमाको भूमिका भए पनि फिल्ममा केन्द्रिय भूमिका श्वेता रहनेछिन् । फिल्मको स्क्रिप्टको काम सकिएर लोकेसन फाइनलको काम भइरहेको छ ।