अभिनेता अफताबलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । बलिउडका बच्चन परिवार पछि अभिनेता अफताब शिवदसानी पनि कोरोना भाइरसको चपेटामा परेका छन् । कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि अफताब चिकित्सकको सल्लाहमा होम क्वारेन्टाइनमा छन् । अफताबले आफ्ना फ्यान तथा फलोअर्सलाई सावधानी अपनाउन अपिल गरेका छन् ।

उनले ट्वीटरमा एउटा ट्वीटमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । ‘आशा छ, तपाईंहरु सबै ठिक हुनुहन्छ र आफ्नो हेरचाह गर्नुहोला । हालै मात्र मलाई हल्का रुघा र ज्वरोको लक्षण देखिएको थियो । त्यसपछि मैले कोभिड–१९ टेस्ट गराएँ । दुर्भाग्यबस टेस्ट पोजेटिभ देखियो । म चिकित्सक र सम्बन्धित अधिकारीहरुको निगरानीमा छु । मलाई घरमै क्वारेन्टाइन हुन सल्लाह दिएका छन्’, उनले ट्वीट गरेका छन्, ‘म ती सबैसँग आग्रह गर्दछु कि जो हालै मेरो सम्पर्कमा थिए, कृपया आफ्नो जाँच गर्नुहोला, ताकि सुरक्षित हुन सकियोस् । तपाईंहरु सबैको शुभकामना र समर्थनले म चाँडै ठिक हुनेछ । सामाजिक दुरी, मास्क र सेनिटाइजरको अधिक प्रयोग गर्नुहोस्, जसले ज्यान बचाउनेछ । हामी मिलेर यसलाई हराउनेछौं ।’

अफताबले महाराष्ट्र सरकारको निर्देशिका पछि सुटिङ शुरु गरेका थिए । उनी जी ५ को वेब सिरिज ‘पोइजन २’ सुटिङ शुरु गरेका थिए । जसको रिलिज अक्टोबर १६ लाई निश्चित गरिएको छ । गत जुलाईमा अफताबले यसको सुटिङ शुरु गरेका थिए र अगस्टमा यसको टिजर आएको थियो । अफताब पछिल्ला केही वर्षदेखि फिल्ममा सक्रिय छैनन् ।