भारतीय पूर्व मन्त्री जसवन्तको निधन

नयाँदिल्ली(एजेन्सी) । भारतीय पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टीका संस्थापक सदस्य रहेका जसवन्त ८२ वर्षका थिए । राजस्थानको बाडमेरबाट आएका जसवन्तले अटल विहारी बाजपेयी सरकारको पालामा विदेश, रक्षा र वित्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनामा मेजर पनि थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनको मृत्युमा शोक व्यक्त गरेका छन् । ‘जसवन्त सिंहले हाम्रो देशको पूर्ण लगनशिल भएर सेवा गरे । पहिला उनले सैनिकको रुपमा र त्यसपछि राजनीतिमा लामो यात्रा गरेर सेवा गरे । अटलजीको सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हाले र वित्त, रक्षा र विदेश मामलामा विश्वमा एक मजबुत छाप छोडे । उनको निधनबाट दुःखी छु’, उनले ट्वीट गरेका छन्, ‘जसवन्त सिंहजीलाई उनको राजनीति र समाजको मामलामा अनौठो दृष्टिकोणले सम्झिइनेछ । उनले बीजेपीलाई मजबुत बनाउन योगदान दिएका छन् । उनको परिवार र समर्थकप्रति मेरो समवेदना छ । ओम शान्ति ।’ मोदीले आफूले जसवन्तको छोरा मानवेन्द्र सिंहसँग कुराकानी गरेर शोक व्यक्त गरेको उल्लेख गरेका छन् ।

सन् २०१४ मा बाथरुममा लडेपछि जसवन्तको शिरमा गम्भीर चोट देखिएको थियो । त्यसपछि उनी कोमामा थिए ।