अञ्जुको आमामा फरक सुरक्षा

काठमाडौं । अभिनेत्रीद्वय मिथिला शर्मा र सुरक्षा पन्त भन्नासाथ धेरैको दिमागमा दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’को स्मरण हुन्छ । यो फिल्ममा आमा र छोरीको भूमिकामा अभिनय गरेका उनीहरुले दर्शक र समीक्षकबाट राम्रो प्रशंसा पाएका थिए ।

यिनै आमाछोरी गायिका अञ्जु पन्तको गीत ‘आमा’ को भिडियोमा देखिएका छन् । गीतमा नरेश प्रधानको शब्द तथा हरि लम्सालको संगीत तथा एरेन्ज छ । भिडियोमा आफ्नो सन्तानलाई मस्तिष्क पक्षघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको चोट देखाउन खोजिएको छ । भिडियोमा मस्तिष्क पक्षाघात भएका सन्तानको भविस्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा सुरक्षाले मस्तिष्क पक्षघात पीडित छोरीको भूमिकामा अभिनय गरेकी छन् ।

स्टुडियो साउन्ड मिलमा रेकर्डिङ गरिएको गीतमा महेश्वरमान राजभण्डारीले मिक्सिङ र मास्टरिङ छ । अनुप चापागाईको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । गीतकी कोओर्डिनेटर बुनु श्रेष्ठ हुन् ।

पछिल्लो केहि बर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधान मस्तिष्क पक्षाघात सम्बन्धी जनचेतनामूलक गीतमार्फत समाजमा जनचेतना फैलाउने अभियानमा लागेका छन् । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।