नयाँ नागिन बन्दै श्रद्धा

मुम्बई(एजेन्सी) । सानो पर्दा र ठूलो पर्दामा नाग–नागिनको कथाको माहोल नै फरक हुन्छ । ७० को दशकदेखि अहिलेसम्म नागिनले यो पौराणिक कथाबाट दर्शकको मन जितिरहेका छन् । समय अनुसार यो कथामा फरक फरक भूमिकाका साथ फिल्मी पर्दामा पनि आइरहेका छन् । यसअिघ श्रीदेवी र रीना रोय जस्ता अभिनेत्रीहरुले ठूलो पर्दामा नागिन बनेर आफ्नो खतरनाक अन्दाज देखाइसकेका छन् । अब यो सूचीमा अभिनेत्री श्रद्धा कपुर आउँदैछिन् ।

श्रद्धा आफैले ट्वीट गर्दै यो कुरा सार्वजनिक गरेकी हुन् । ‘पर्दामा नागिनको भूमिका निभाउनु मेरो लागि निकै खुशीको कुरा हो । म श्रीदेवी मेमको ‘नगीना’ र ‘निगाहें’ हेरेर हुर्किएकी हुँ र जहिल्यै यस्तो भूमिका निभाउन चाहन्थें । जुन भारतीय लोक परम्परासँग जोडिएको होस्’, उनले लेखेकी छन् ।

यो फिल्मको निर्माण निखिल द्विवेदीले गर्दैछन् भने विशाल फूरियाको निर्देशन रहनेछ । श्रद्धाको पछिल्लो फिल्म ‘बागी ३’ हो, जुन फिल्म यसै वर्ष कोरोना भाइरसको प्रकोप हुनुभन्दा अघि नै रिलिज भएको थियो । फिल्ममा टाइगर श्राफ र रितेश देशमुखको पनि अभिनय थियो ।