पुनर्निर्माणपछिको बारपाकमा बारपाकी माया २

काठमाडौँ । गुरुङ संस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ संस्कारको विषयलाई उत्थान गरेको थियो ।  बारपाक वीरचक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठुलो बस्ती रहेको छ । लक डाउनको समयमा फिल्मको स्क्रिप्ट तयार पारिएको छ । फिल्मको निर्देशन खिलबहादुर गुरुङले गर्नेछन ।

फिल्ममा विशेष गरेर बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिने छ । करिब ८० लाखको बजेटमा निर्माण हुने फिल्मको छायांकन उत्तरी गोर्खाको बारपाक लगायत सिरानचोकको आरुबोट, झारगाउँ, अजिरकोटको भच्चेक सिरानडाडा जस्ता रमणीय स्थानहरुमा गरिनेछ ।

२०७२ सालको महाभुकम्पअघि बनेको फिल्मले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो । महाभुकम्पले उक्त गाउँ तहसनहस भएको थियो । अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ ।

लकडाउनको समाप्तिसँगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिनासाथ छायांकनमा जाने तयारीमा रहेको छ । गोरखा सिरान चोक एण्ड लिगलिग कोट फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा वीरबल घले, सुरज गुरुङ, लक्ष्मी गुरुङ, तलिसा गुरुङ, बलबहादुर गुरुङको मुख्य भूमिका रहनेछ ।