आइ एम नो मसीहामा सोनूको लकडाउन सेवा

मुम्बई(एजेन्सी) । कोरोना महामारी र लकडाउनका बीच मजदुरका लागि खुलेर काम गरेका बलिउड अभिनेता सोनू सूदमाथि एक पुस्तक लेखिएको छ । यो पुस्तकलाई पत्रकार मीना के अय्यरले लेखेका हुन् । पुस्तकको नाम ‘आइ एम नो मसीहा’ राखिएको छ । किताब सोनूको सामाजिक काम र उनको जीवनमा आधारित छ । सोनूले आफैं सामाजिक सन्जालमा एक भिडियो शेयर गर्दै यो किताबको बारेमा जानकारी दिएका हुन् ।

सोनूले भिडियो शेयर गर्दै लेखेका छन्, ‘मेरो किताब आइ एम नो मसीहा आएको छ । मैले हस्ताक्षर गरेको किताब तपाईंले मुम्बई एयरपोर्टस्थित बुकस्केट्रामा पाउनुहुनेछ । तपाईंले यसलाई अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ । यो पुस्तक हिन्दी र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।’

लकडाउनको समयमा सोनूले मुम्बईमा फँसेका प्रवासी मजदुरहरुलाई देशका कुनाकन्दरास्थित उनीहरुको घरसम्म पुर्याउन सहयोग गरेका थिए । उनले र उनको टिमले मजदुरका लागि टोल फ्री नम्बर र वाट्सएप नम्बर जारी गरेका थिए । सोनुले मजदुरलाई बस, ट्रेन र चार्टड फ्लाइटको व्यवस्था मिलाएका थिए । साथै उद्धारको पर्खाइमा रहेका व्यक्तिहरुलाई खानपिनको व्यवस्था पनि मिलाएका थिए ।