मनसँग मनमा खुलेका पल र पुजा

काठमाडौं । लकडाउन अगाडि नै छायांकन सुरु गरिएतापनि कोरोनाका कारण रोकिएको फिल्म ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ । बालाजुको चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर चलचित्रमा समावेश ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो ।

यो गीतमा डेभिड शंकर र भावना राइको स्वर, दिपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धी तामाङसँगै पल शाह र पूजा शर्मा तथा रवीन्द्र झा देखिएका छन् । पल, पुजा र रवीन्द्र अतिथि भूमिकामा छन् ।

कैलाश राइको निर्देशनमा तयार भएको फिल्ममा सौरभ लामाको छायांकन, अरुण तामाङको लगानी छ । यो चलचित्रमा अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको नाम परिवर्तन भएपनि कथावस्तु परिवर्तन नभएको निर्देशक कैलाश राइले बताए । सुरुमा यो फिल्मको नाम ‘चालबाज’ राखिएको थियो । अहिले नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।