अभिनेत्री ऋचालाई ज्यानको धम्की

मुम्बई(एजेन्सी) । अभिनेत्री ऋचा चड्डाको फिल्म ‘मेडम चीफ मिनिस्टर’ हालका दिन विवादमा परेको छ । यो फिल्ममा ऋचाले एक दलित युवतीको भूमिकामा देखिएकी छन्, जो पछि राज्यको मुख्यमन्त्री बन्छिन् । फिल्मको ट्रेलर रिलिज भएपछि फिल्मको विषयमा अनेक विवाद उठेका छन् । यो फिल्मलाई मायावतीसँग पनि जोडिएको छ । यद्यपि निर्माण पक्षले फिल्मको मायावतीसँग कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।

फिल्मको विषयलाई लएर ऋचालाई लगातार धम्की आइरहेको छ । अखिल भारतीय भीम सेनाका संस्थापक नबाब सतपाल तंवरले अभिनेत्रीलाई ज्यानको धम्की दिएका छन् । उनले यदी कसैले अभिनेत्रीको जिब्रो काटिदियो भने उसलाई सम्मान गर्ने घोषणा नै गरेका छन् ।

अभिनेत्री स्वरा भास्करसहित कैयौं बलिउड स्टारले यो धम्कीको निन्दा गरेका छन् । ऋचाले सामाजिक सन्जालमा यो धम्की प्रति लक्षित गर्दै ‘म डराउदिनँ’ भनेर लेखेकी छन् ।  फिल्ममा ऋचाका अलावा सौरभ शुक्ला, मानव कौल, अक्षय ओबेरोय र सुरभी चन्द्राको अभिनय छ । यो फिल्म जनवरी २२ मा रिलिज हुनेछ ।