हिन्दीमा आउदै वीर विक्रम २

काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्मलाई भारतीय थिएटरमा हिन्दी भाषामा डब गरेर रिलिज गर्ने तयारी भए पनि कोरोना महामारीका कारण फिल्म युट्युबमा रिलिज हुन लागेको हो ।

निर्देशक चाम्सकाअनुसार उनले भारतका थिएटरमा ‘वीर विक्रम २’ रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गरेका थिए । ‘हामीले कोरोना अघि नै भारतमा फिल्म प्रदर्शनको तयारी गरेका थियौं । तर महामारीका कारण त्यो तयारीलाई पूर्णता दिन पाएनौं’, निर्देशक चाम्सले भने ।

उनले भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने बताए । एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सको भनाई छ । भारतमा दर्शकको संख्या उल्लेख्य रहेकाले पनि फिल्म मनपराउनेमा उनी आशावादी छन् ।

उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायतको अभिनय छ ।