‘मेरो बाबाले चलाएको स्कुल हेर्नुहोस् प्रधानमन्त्रीज्यू’

काठमाडौं । कमेडी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कमेडियन आदर्श मिश्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले चलाएको देश र आफ्नो पिताले चलाएको स्कुल हेर्न चुनौती दिएका छन् । पिता विनोद मिश्राको निधनको भोलिपल्ट कमेडियन आदर्श मिश्राले एक भिडियो सार्वजनिक गर्दै उनले यो चुनौती दिएका हुन् ।

‘मलाई मानिसहरु विनोद मिश्राकै छोरा भनेर चिन्छन् । उहाँ नवल स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो। पहिलाको नवल स्कुल र बाबा प्रिन्सिपल भएपछिको नवल स्कुलमा धेरै फरक छ । दुवै किड्नी फेल भएर पनि बुबाले काम गर्न छाड्नु भएन । हप्तामा दुईपटक स्कुटर पछाडि बसेर डायलसिस गर्न जानु हुन्थ्यो र पनि मेरो बाबाले चलाएको स्कुल र तपाईँले चलाएको देश हेर्नुस् प्रधानमन्त्री ज्यू’, उनले भनेका छन् ।

आफ्नो युटुब च्यानलमा सार्वजनिक गरेको भिडियोमा उनले अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पूरा समय हुन नपाउँदा निधन भएको उल्लेख गरेका छन् ।

‘मेरो बाबाको मृत्युको सम्पूर्ण जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्छ । किनकी, २ महिना अगाडि मात्र मेरो बाबालाई ‘तपाईंको डायलसिस यहाँ हुन सक्दैन’ भनेर नेशनल मेडिकल कलेजले हामीलाई निकालिदियो । सरकारबाट एउटा बिरामीको डायलसिस गरेको ३५ सय लिने अनि बिरामीलाई आवश्यक पर्दा धपाइदिने ? यो कस्तो नियम हो ।’ उनले आक्रोश पोखेका छन् ।

उनले आफ्नो आमा डिप्रेसनको औषधि खाइरहेकाले बुबा निधनपछि आफूले आमालाई झुटो बोलेको खुलाएका छन् । ‘मैले आमालाई नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरेको छु, बुबालाई लिएर जानुपर्छ भनेर झुटो बोलें । अस्पताल लैजाने भनेर मैले बुबाको शवलाई दाहसंकार गर्न लिएर गएँ ।’ उनले भनेका छन् ।उनले प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रम आयोजना गरेर बाबालाई एक लाइभ शो देखाउने सपना रहे पनि त्यो पुरा हुन नसकेको दुःखेसो गरेका छन् ।