सुरक्षा गार्डले वृद्धाको शल्यक्रिया गरेपछि

लाहोर(एजेन्सी) । पाकिस्तानको लाहोरबाट एक अनौठो समाचार बाहिर आएको छ । लाहोरको एक अस्पतालमा एक पूर्व सुरक्षा गार्डले आफूलाई डाक्टर बताउदै एक वृद्धाको शल्यक्रिया गरेका छन् ।

लाहोरको मेयो अस्पतालमा ८० वर्षीया वृद्धा शमीमा बेगमको मृत्यु भएपछि गरिएको अनुसन्धानमा सुरक्षा गार्डको शल्यक्रियाका कारण उनको मृत्यु भएको खुलेको हो । महिलाको शल्यक्रिया गर्ने पूर्व सुरक्षा गार्ड मुहम्मद वहीद बट हुन् ।

यस्तो दुर्घटना हुँदा पनि अस्पताल प्रशासन भने मौन छ । अस्पतालले कोही डाक्टर अथवा अन्य व्यक्ति के गरिरहेको छ भन्ने कुराको निगरानी प्रशासनले नगर्ने भन्दै पन्छिएको छ ।

शल्यक्रिया अघि बेगमको परिवार उनको घरमा आएर वृद्धा महिलाको घाउको उपचार गरिरहेका सुरक्षाकर्मी बटलाई पैसा पनि दिइरहेका थिए । तर घाउको अवस्था बढ्दै गएपछि बेगमलाई अस्पताल लगिएको थियो । प्रहरीले बटलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।