एक्सन फिल्म एक्स ९ मा जोडिए अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी एक्सन फ्लेभरको फिल्म ‘एक्स ९’मा जोडिएका छन् । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्मका लागि अनमोल र निर्माण पक्षबीच आइतबार सम्झौता भएको छ । अनमोलले कति पारिश्रमिकमा अनुबन्धित भए भन्ने खुलाइएको छैन ।

अनमोलले आउँदो जनवरीबाट फिल्मको छायांकन सुरु गर्नेछन् । यसअघि उनी आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ मध्ये एउटा फिल्मको काम पुरा गर्नेछन् ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘एक्स ९’को कथा मुकुन्द भट्ट र किंग योगीले लेखेका छन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् ।

नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा खिचिने फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ । निर्माण समूहले बलिउड अभिनेता सुनील शेट्टीलाई भिलेन चरित्रका लागि प्रस्ताव गरेको छ ।