तीज विकृतिमा लक्ष्मणको गहना

काठमाडौं । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित सर्ट फिल्म ‘गहना’ सार्वजनिक भएको छ । एक्सनकट नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक ३२ मिनेट लामो फिल्ममा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई देखाइएको छ ।

निर्देशक सुवेदीका अनुसार हरितालिका तीजलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई सशक्त रुपमा देखाइएको छ ।

‘गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार छन् भन्ने कुरा फिल्ममा छ’, निर्देशक सुवेदी भन्छन्, ‘गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्ट रुपमा फिल्मले प्रस्तुत गरेको छ ।’

अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिका रहेको फिल्मको कथा लक्ष्मणले नै लेखेका हुन् । फिल्ममा विमल ढकालको छायांकन, विनय पौडेलको मुख्य सहायक निर्देशन, ललितसिंह राउतको सम्पादन, विनोद भुजेलको पाश्र्वसंगीत छ ।

दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको फिल्म काठमाडौंमा छायांकन गरिएको हो ।