रिमेक भर्सनमा मेलवादेवीको सवारी मेरो रेलैमा

काठमाडौं । नेपाली आधुनिक गीतकी प्रथम गायिका मेलवादेवी गुरुङले वि.सं. १९८४ सालमा भारतको कोलकाताको हिज मास्टर भ्वाइस कम्पनीमा रेकर्ड गरेको गीत ‘सवारी मेरो रेलैमा’को रिमेक भर्सन सार्वजनिक भएको छ ।

मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । रिमेक भर्सनको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ । काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुनः रेकर्ड गराएको हो ।

गीतका एरेञ्जर राजेन्द्र बजगाईंले नेपालको पहिलो यो गीत सबैले सहजै रुपमा सुन्न पाउन भनेर पुरानै भावमा आफूले रेकर्ड गराएको बताए । गीतमा संगीत संयोजन राजेन्द्रको र मिक्सिङ मनोज परियारको छ ।

मेलवादेवी प्रति समर्पण गरिएको यो गीतको भिडियो बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियाेमा सविन र बेनिशा नै फिचर्ड छन् ।भिडियो केशवराज भट्टले तयार पारेका हुन् । भिडियोमा गोविन्द अन्जानको छायांकन र राजेशकुमारको सम्पादन छ ।