लिटिल मिस नेवाको तयारीमा नेवार किशोरी

काठमाडौं । नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘लिटिल मिस नेवाः’ यस वर्ष पनि हुने भएको छ ।

होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार कोभिड १९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको प्रतियोगिता यसवर्ष आगामी कात्तिक ६ गते शनिवार राजधानीमा हुनेछ । १३ औं संस्करणको यो प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रँदैछन् ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई शुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लीज फेसन होमले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको छ । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरुलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको छ ।

त्यस अवसरमा नेवार किशोरीहरुले विश्व शान्ति तथा कोरोनाबाट छुटकाराको कामना गर्दै पूजाआजा गरेका थिए । वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकताबारे सहभागीहरुलाई जानकारी गराएका थिए । प्रतियोगीहरुलाई लाख बत्ती बाल्न पनि सिकाइएको थियो ।

प्रतियोगी किशोरीहरुलाई आइतबार महांकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ । सो अवसरमा समयबाजी डोको महत्वबारे बुझाइएको थियो । समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो ।

प्रतियोगितामा ‘लिटिल मिस नेवाः’की ‘फस्ट रनर अप’ प्रियंका तण्डुकार, ‘बेस्ट पर्सनालिटी’ पल्पसा श्रेष्ठ र ‘चार्मिङ पर्सनालिटी’ प्रजिता श्रेष्ठले कोरियोग्राफी गर्नेछन् । त्यसै गरी ‘मिस नेवाः’ सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् ।