काठमाडौं । फिल्म ‘गुञ्जन’ को एक गीत ‘सासै चल्छ पल पल तिम्रै मायाको’ दुबईमा छायांकन गरिएको छ । निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जनसहित अभिनेता प्रितमराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको टोलीले त्यहाँ गीतको सुटिङ गरेको हो ।
दुबईको विभिन्न सुन्दर लोकेशनमा खिचिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी र विदुर पाण्डेको छायांकन छ । विगत २ दशकदेखि फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका अष्टको फिल्ममा यो डेब्यू निर्देशन हो ।
विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौ, पोखरा, जोमसोममा छायाँकन भएको छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।