मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘गली ब्वाइ’ फेम्ड र्यापर धर्मेश परमार उर्फ एमसी तोडफोडको निधन भएको छ । २४ वर्षे धर्मेशको हृदयघातका कारण निधन भएको हो । धर्मेशकी आमाका अनुसार धर्मेशलाई पछिल्लो चार महिनामा दुईपटक हृदयघातको समस्या देखिएको थियो । तर यसपटक भने उनी बच्न सकेनन् ।
आमाका अनुसार नाशिकमा भएको एक होली कार्यक्रममा धर्मेश केही समयअघि गएका थिए । ‘२० मार्चमा उनका साथीहरुले फोन गरेर मलाई धर्मेशको निधनबारे जानकारी दिए । सुरुमा त मलाई पत्यार लागेन । तर सोधखोजपछि उनको निधनको पुष्टि भयो । त्यो दिन छोरा फूटबल खेलिरहँदा रिँगटा लागेर मैदानमा ढलेको रहेछ । साथीहरुले उसलाई तुरुन्त अस्पतालमा लगे पनि बचाउन सकेनन्’, आमाले भनेकी छन् ।
धर्मेशका पिताले शवलाई नाशिकबाट मुम्बई ल्याएर अन्तिम संस्कार गरेका छन् । नाशिकको कार्यक्रमका लागि धर्मेशले कैयौं दिनदेखि मेहनत गरिरहेका थिए । होलीको कार्यक्रमका लागि उनी निकै उत्साहित थिए ।
धर्मेशलाई करिब चार महिना अघि लद्दाखमा जाँदा हृदयघात भएको थियो । तर उनले यो कुरा लुकाएका थिए । केही महिना अघि पुनः हृदयघात भएपछि मात्र उनलाई लद्दाखमा पनि हृदयघात भएको कुरा खुलेको हो ।
फिल्म ‘गली ब्वाइ’मा गीत गाएपछि उनी बढी महत्वकांक्षी बनेका थिए । पहिलो फिल्ममा गीत गाएको अवसर जस्तै दोस्रो फिल्ममा पनि पाउने उनको आशा थियो । उनी बलिउडमा आफ्नो नाम बनाउन चाहन्थे, तर त्यो चाहना पुरा हुन सकेन ।
उनले ‘गली ब्वाइ’ को गीत ‘इण्डिया ९१’का लागि र्याप गरेका थिए । अभिनेता रणवीर र सिद्धान्त चतुर्वेदीले दिवंगतप्रति श्रद्धाञ्जली दिएका छन् ।