लाप्राकमा नेपाल ग्रामीण चलचित्र महोत्सव

काठमाडौं । सेलिब्रेटी नेपालले आगामी वर्षको वैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरुलाई सहभागी गराइने आयोजकले जनाएको छ ।

आयोजकले मंगलबारबाटै फिल्मको दर्ता प्रक्रिया पनि सुरुवात भएको छ । महोत्सवमा सहभागी हुन चाहने फिल्म टिमले ruralnepal2078@gmail.com मा इमेल गरेर सहभागिता जनाउन सक्नेछन् ।

पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा आम दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने विषयमा वर्कशप हुने र फिल्मकर्मीहरुको बीचमा ग्रामीण फिल्मको कथा तथा मौलिक फिल्म निर्माण सम्बन्धी अन्तरक्रिया हुने र उत्कृस्ट फिल्मलाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने समेत अध्यक्ष सापकोटाले खुलाए ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको सांस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुतिसमेत रहने जनाईएको छ । नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष सापकोटाले बताए ।

यस किसिमका महोत्सव तथा फिल्मसँग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली फिल्म र फिल्मकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ ।