आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा

काठमाडौं । नेपालमै अन्तराष्ट्रियस्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् ।

ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सबमा उनले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।

‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ । बैंककमा गर्नुपर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ,’ उनले भनिन्, ‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्राविधि अझ उपयुक्त हुने भएको छ ।’

विगत सात वर्षदेखि आँखा सम्बन्धी सबै समस्या र आँखासहित अन्तर्राष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफुहरुले गर्दै आएको सो सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताईन् ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आफुहरुले विदेशमा दिने आँखाको कस्मेटिक सर्जरी सम्बन्धी सबै सेवा दिएकाले यो सेवाको लागि नेपालीहरु विदेश जाने क्रममा केही कमी आएको दाबी गरे ।