काठमाडौं । ११ कात्तिकमा प्रदर्शन तयारीमा रहेको सस्पेन्स थ्रिलरको फिल्म ‘लाखे’ एक सातापछि सरेर १८ कात्तिक पुगेको छ । ११ कात्तिकमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएपछि ‘लाखे’ युनिटले दिग्गजहरूको सम्मानमा आफूहरू एक सातापछि हटेको जनाएको छ ।
निर्माता डीपी भण्डारीले पछिल्लो समय नेपाली फिल्मको व्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा प्रतीक्षित दुइटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्नेसमेत देखेर आफूहरू एक साता पछि गएको बताए ।
‘अग्रज दाइहरूको सम्मान तथा सन्तुलित व्यवसायको पद्धति बसाल्न हामी एक सातापछि गएका हौँ । यसले दुवै फिल्मलाई फाइदा गर्ने विश्वास हाम्रो छ’, भण्डारीले भने, ‘ठूलो बजेटका फिल्म एकआपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ । त्यसमाथि केही समयको ग्यापपछि हाम्रा आदरणीय दाइहरूको फिल्म आउँदै छ । त्यसैले हामी एक साता पर जान कति पनि हच्किएनौँ ।’
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सगुन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।
सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मका निर्मातामा डीपी भण्डारी र गणेश मल्ल ठकुरी (जीएम) छन् ।