थ्रिलर प्रेमकथामा ह्यासट्याग माया

काठमाडौं । बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘ह्यासट्याग माया’ (३माया) को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने छ । फिल्मको शुक्रबार मुहुर्त गरिएको छ ।

फिल्मको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङले फिल्मको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए । ‘पैतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं । थ्रिलर विधामा निर्माण हुने फिल्ममा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने फिल्मको कथा मायामै केन्द्रीत रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शिर्ष भूमिकामा छिन्। उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।

फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।