शनिबारबाट आम्मा कसम याँ दुख्छको नयाँ संस्करण

काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो । दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित रहेका छन् ।

यो शो प्रत्येक शनिबार राती ८ः४५बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण हुने जानकारी गराइयो । पहिलो सिजनको तुलनामा अझै राम्रो र केहि परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ । शोकी निर्देशक श्रृद्धा प्रसाईका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरन्जन लिन सक्नेछन् । उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मिहिनत पनि बढी गरिरहेका छौं । साथै परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’

शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ बिशेष भएको जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागी पनि बिभिन्न कलाकारदेखी राजनितिज्ञसँग कुरा भइरहेको जानकारी गराए ।

शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईँले गरेका छन् । चापागाईँका अनुसार पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका लागि धेरै सहज भएको छ । ‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो । पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन । एकपटक बुझाएपनि गेष्ट आउन खोज्नुहुन्छ । किनकी हाम्रो शोको फम्र्याट नबुझेर मात्रै सुरुमा केहि समय गाह्रो भएको हुन सक्छ ।’ चापागाईँले भने ।

एन क्यासको प्रस्तुती रहेको शोको पहिलो भागको प्रोमोमा केशव स्थापित खुलेरै शोमा गएको देखिन्छ । प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइमेन्टका प्रमुख रबिन्द्रकुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

यस शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् । यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश चौतम भित्रिएका हुन् । शोको लेखनको काम सुशान्त बस्याल र बिकाश अर्याल रहेका छन् भने शोको स्टाइलिस सुदेशना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।