दुई चुल्ठी बाटनमा विपिन र आँचल

काठमाडौं । आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार जनैपूर्णिमाको अवसर पारेर फिल्ममा समावेश गीत ‘दुई चुल्ठी बाटन’ इन्टरनेटमा रिलिज गरिएको हो ।

गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का फिचर्ड छन् । आँचल र निश्चललाई फिल्मको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । गीतमा बि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत तथा मेलिना राई र निशान भट्टराईको स्वर छ ।

निरज कँडेलले खिचेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिनका अलावा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता निर्माता तथा लेखक अभिनेता खगेन्द्र लामिछाने हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । फिल्म नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।