बलिदान र आर्टमान्डुको सहकार्य

काठमाडौं । ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ जस्ता लोकप्रिय गीतका गायक तथा संगीतकार सुजन चापागाईं फिल्म ‘बलिदान’मा जोडिएका छन् ।

सुजनसँगै उनको सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान फिल्ममा जोडिएका हुन् । यो समूहले फिल्मका गीत तथा पाश्र्व संगीतमा काम गर्नेछ । जसअन्तर्गत हर्कले गीत लेखन, सुजनले संगीत तथा स्वर र पाश्र्व संगीत तथा नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

यसअघि सुजनले केही फिल्मको लागि फुटकर गीतहरूमा स्वर दिएका थिए । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको बताए ।

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको यो फिल्मको टिजर फिल्म छायांकनमा जानुअघि नै रिलिज भइसकेको छ । आसुसेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कलाकार फाइनल भइसकेका छैनन् ।

निर्देशक सेनले देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथा वरपर फिल्म बन्ने बताए । ‘परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश फिल्मले दिनेछ’, उनले भने ।

आसुसेन प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको ‘स्क्रिप्ट डाक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।