इन्फा अवार्डमा अनमोल र केकी उत्कृष्ट

काठमाडौं । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । अनमोल केसी ‘फर्की फर्की’बाट ‘सर्वोत्कृष्ट अभिनेता’ र केकी अधिकारी ‘प्रसाद २’ बाट अभिनेत्री ठहरिएका छन् ।

नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना गरिएको अवार्डमा ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

सर्वोत्कृष्ट कथा÷पटकथाको अवार्ड ‘दिमाग खराब’ बाट आकाश बरालले हात पार्दा ‘प्रसाद २’ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ, ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार(बोक्सीको घर–बुझिनँ मैले), कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारी बोक्सीको घर (बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारेका छन् ।

यता वर्ष २०२४ को पपुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म ‘जारी’ बाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुदाँ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले जित्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले हात पारेकी छिन् ।

यता लाईफ टाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन् । केसीले अवार्ड ग्रहण गर्दै गर्दाको दृश्य निकै दुर्लभ बन्यो । अभिनेता अनमोल केसीले स्टेजमै पिताको खुट्टा ढोगेका थिए । जसले अवार्ड कार्यक्रयमा उपस्थित सबैलाई स्तब्ध बनायो ।

१९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्पन्न भएको हो ।

अवार्ड समारोहमा केकी अधिकारीले बुझिन मैले, अनमोल जसिताले फर्की फर्की, शिल्पा मास्केले गैरी खेतको र आज हाम्रो भेट भएको दिन, सुशान्त खत्रीले नेपालीगीतको कलेक्सनमा, गरिमा शर्मा, भुवन केसी, जिया केसी र गौरी मल्ल, आर्जन पाण्डेले आफ्नो गायन प्रस्तुति दिएका थिए ।