तेल भिसा ट्रेलरमा नेपाली सासुको अमेरिकी भोगाई

काठमाडौं । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले अमेरिकामा सुत्केरी स्याहार्न नेपालदेखि गएकी एक सासूले भोगेको अनेक समस्यालाई प्रस्तुत गरेको छ । फिल्ममा नायिका वर्षा राउतले बुहारी र पुजा चन्दले सासुको भूमिका निर्वाह गरेकी छन् ।

३ मिनेट ३६ सेकेण्डको ट्रेलरमा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङलगायतका कलाकार देखाइएको छ । फिल्ममा विपिन नेपालमा रहेका पिता र अमेरिकामा रहेका छोरा गरी दोहोरो भूमिकामा छन् ।
ट्रेलरमा ओभर स्टेका कारण अमेरिकी प्रहरीले पुजालाई पक्राउ गरेपछि पुजाले झेल्ने कानूनी तनावलाई ट्रेलरमा स्थान दिइएको छ ।

फिल्मका निर्देशक शंकर घिमिरे हुन् ।  फिल्ममा बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ । अमेरिकाको मेरिल्याड र नेपालका विभिन्न भूभागमा फिल्म खिचिएको छ । वेलडन क्रिएसनले फिल्म निर्माण गरेको हो । अनिल पाण्डे र शिवराज कार्की निर्माताको रुपमा छन् ।