काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमबीच बायोपिक निर्माणको घोषणा गरिएको हो ।
मिलन चाम्सको निर्देशन रहने यो फिल्मले मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई देखाउनेछ ।
मिलनले यसअघि तीन बायोपिक फिल्महरु ‘ब्लाइन्ड रक्स’, ‘बबी’ र ‘अञ्जिला’ निर्माण गरेका थिए । नेपाली अभिनेताको बायोपिक बन्न लागेको यो पहिलोपटक हो । गायकका रुपमा भक्तराज आचार्यको भने बायोपिक ‘आचार्य’ निर्माण भइसकेको छ ।
मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । फिल्ममा मदनको श्रीमति यशोदाको भूमिका भने केकी अधिकारीले निभाउनेछिन् । निर्देशक चाम्सका अनुसार फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
७६ वर्षिय कलाकार मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिकलाई लिएर खुशी व्यक्त गर्दै फिल्ममा दर्शकले आफ्नो जीवनलाई नजिकबाट बुझ्न पाउने बताए । कार्यक्रममा गायिका आनी छोइङले स्वस्ति वाचन गरेकी थिइन् । त्यसअघि आज बिहान निर्माण टिम पशुपतिनाथको मन्दिर पुगेर पूजाआजा गरेको थियो ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिकमा राजकुमार श्रेष्ठको निर्माण हुनेछ । यम थापाको कथा तथा पटकथा रहने फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ।डी। कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।




