काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फस्टलुक तथा अफिसियल टिजर सार्वजनिक भएको छ ।
वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ ।
वृत्तचित्रले सगरमाथाको भव्यता मात्र होइन, आरोहणको जोखिम, शेर्पा समुदायको अथक योगदान, मानव साहस र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई पनि गहिराइका साथ प्रस्तुत गरेको छ ।
निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको वृत्तचित्रमा किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिनेछन् । फुर्वाले १८ र निमाले विश्वकै १४ अग्लो हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यो यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा देखिनेछन् ।
वृत्तचित्रको पहिलो नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८मा हङकङबाट सुरु हुनेछ । त्यस लगत्तै वृत्तचित्रलाई नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।
दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् ।
भुषण दाहालको भ्वाइस ओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा रहेको छ ।
सामाजिक संस्था वि विल राईज फाउण्डेसनद्वारा निर्मित यस वृत्तचित्रले विश्वभर नेपालको पर्यटन प्रर्वद्धनमा समेत टेवा पु¥याउने उद्देश्यसहित यसको निर्माण भएको बताएको छ । वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ ।





