बाः एक योद्धाका गीतमा दर्शकको चासो

काठमाडौं । आगामी भदौ १९ गते रिलिज हुने फिल्म ‘बाः एक योद्धा’को गीत ‘चढेको बुई नबिर्स’ र ‘नभन्नू कोइसित’ यतिबेला चर्चामा छ । विशेषत युट्युबमा यी दुई गीत प्रति दर्शकको प्रतिक्रिया उत्कृष्ट मिलिरहेको छ ।

गीत हेरेपछि टेकेन कँडेल लेख्छन्, ‘धेरै राम्रो सन्देश बोकेको लोक संस्कारयुक्त गीत रहेछ । जसले १० मा ८ स्कोर पाउँछ मबाट । छुटाउँदा अन्याय भैजाने त ‘भुइँ नबिर्स’ नै हो, जसलाई १० मा ९.९९ घटाउँदैन ।’

सिबी राना मगरलाई पनि फिल्मको गीत ‘नभन्नू कोइसित’ मन परेको छ । उनी लेख्छन्, ‘धेरै पछि पञ्चेबाजाको नयाँ गीत आहा सागर आले र समीक्षा अधिकरीको स्वरमा आहा ।’

फिल्मटिमले केही दिन अघि लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको थियो । त्यसअघि शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो ।

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूफिल्मको मुख्य कथा हो । संगीतकार हरि लम्सालको कथा र निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।