काठमाडौं । निर्देशक तथा लेखक राजबहादुर सानेको फिल्म ‘लज्जावती’ यही शुक्रबारबाट प्रदर्शन हुँदैछ । पिःल्ममा सानेले यसपटक प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेका छन् ।
निर्देशक सानेका अनुसार फिल्मको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीको वरिपरि घुमेको छ । कलाकारको नामबाटै फिल्मको नाम ‘लज्जावती’ राखिएको सानेको भनाई छ ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन् । त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारले सहायक भूमिकामा अभिनय गरेका छन् ।
मुकुन भुसालबाहेक अधिकांश कलाकारका लागि यो फिल्म मुख्य भूमिकामा काम गरेको पहिलो फिल्म हो । फिल्मको गीत ‘दिलको मोटर’ र ‘मलाई पिर परेको’ बोलका गीतलाई दर्शकले मनपराइरहेका छन् ।
कलाकार मुकुन भुसालले फिल्म नेपालीपन बोकेको प्रेम कथा भएकोले आफू फिल्ममा जोडिएको बताए । पहिलोपटक प्रेमकथाको फिल्ममा काम गरेको बताउने मुकुनले नेपाली समाजकै प्रेम कथामा आधारित भएकोले फिल्मले धेरै नेपालीको जीवन बोल्ने दाबी गरे । फिल्ममा मुकुन इ–रिक्सा चालकको भूमिकामा देखिएका छन् ।
अर्का कलाकार श्री कृष्ण निरौला फिल्ममा पागलप्रेमीको भूमिकामा देखिएका छन् । ‘मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराइदिनुभएको छ । त्यसैले फिल्मप्रति निकै आशावादी छु,’ उनले भने ।
श्रीकृष्णका अनुसार जीवनमा पहिलोपटक मायामा परेको व्यक्तिले प्रेमका पाउने पीडा र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत देखाइएको छ ।
त्यस्तै जानुका विश्वकर्मा र मेनुका माझीले पनि पहिलोपटक मुख्य भूमिकामा काम गर्न पाउँदा उत्साहित भएको बताए । जानुका भट्टी साहुनीको भूमिकामा छिन् । उनी मुकुनको जोडीका रूपमा देखिएकी छन् ।
निर्माता कमलप्रसाद शर्माले आफूलाई फिल्मको कथा मन परेकोले लगानी गरेको बताएका छन् । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।





