काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो ।
नाटकका पहिलो दुई दिनका चारै शो तीन दिनअघि नै हाउसफुल भएका थिए भने भोलिका दुवै शोका टिकट पनि अग्रिम बुकिङ भइसकेका छन्। यसअघि कान्तिपुर थिएटरले मञ्चन गरेको ‘सेतो धरती’ ले १०१ कीर्तिमानी शो सम्पन्न गर्दै नेपाली रंगमञ्चमा नयाँ इतिहास रचेको थियो।
‘समर लभ’ को अर्को विशेष आकर्षण अभिनेता अर्पण थापा हुन् । नेपाली फिल्मका अभिनेता थापाले यस नाटकमार्फत पहिलो पटक रंगमञ्चमा अभिनय गरेका छन्। मुख्य भूमिकामा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं रहेका छन्।
कान्तिपुर फिल्म एकेडेमीको थिएटर प्रोडक्सन ‘समर लभ’ बुधबार बाहेक हरेक दिन दिउँसो १स्१५ बजे र साँझ ५स्१५ बजे मञ्चन हुँदैछ। करिब १ घण्टा ५० मिनेट लामो नाटकको टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच, कान्तिपुर थिएटरको चर्चित नाटक ‘सेतो धरती’ अब विराटनगर, पोखरा र चितवनमा पनि मञ्चन हुने तयारी भइरहेको छ।
काठमाडौंमा ‘समर लभ’ र मोफसलमा ‘सेतो धरती’ को मञ्चनले नेपाली रंगमञ्चको आयतन अझ फराकिलो बनाउने विश्वास कान्तिपुर थिएटरले लिएको छ।





